गठबन्धन फेरबदललाई लिएर भारतीय मिडियामा विभिन्न टिप्पणी

काठमाडौं । फागुन २१, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग बनाएको नयाँ गठबन्धनबारे भारतीय सञ्चार माध्यममा विभिन्न टिप्पणीहरु भएका छन् ।
कतिपयले राष्ट्रिय सभा अध्यक्षको विषयले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्य टुटेको लेखेका छन् भने कतिपयले चीनको भूमिकाका कारण गठबन्धन फेरबदल भएको जिकिर गरेका छन् ।
हिन्दुस्तान टाइम्सले राष्ट्रियसभा अध्यक्षको दाबीका कारण कांग्रेस र माओवादी केन्द्रको समीकरण टुटेको समाचार लेखेको छ ।
माओवादी केन्द्रले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र कांग्रेसले पनि त्यसमा दाबी नछोडेकोले दुई दलबीचको सहकार्य अन्त्यको स्थितिमा पुगेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।
हिन्दुस्तान टाइम्सले सरकार फेरबदलमा प्रचण्ड माहिर रहेको पनि आफ्नो समाचारमा लेखेको छ ।
यस्तै अमर उजालाले राष्ट्रियसभाध्यक्षकै विवादका कारण कांग्रेस र माओवादीको गठबन्धन टुटेको समाचार लेखेको छ । चितवनको भरतपुर पुगेर प्रचण्डले गठबन्धनमा खटपटको संकेत गरेको अमर उजालाको समाचारमा उल्लेख छ ।
नयाँ समीकरण बनाउन चिनियाँ राजदूतले भूमिका खेलेको त्यस समाचारमा उल्लेख छ । चीनका धेरै नेताहरुले वाम एकतामा जोड दिएको र त्यही चाहना अनुरुप नयाँ समीकरण बनेको नवभारत टाइम्सले जिकिर गरेको छ ।
उसले एमाले अध्यक्ष ओली भारतका प्रखर आलोचक रहेको र चीन समर्थक रहेको समाचारमा उल्लेख गरेको छ । प्रधानमन्त्री हुँदा ओलीले भारतप्रति विष वमन गरेको नवभारत टाइम्समा समाचार छ ।