एमालेद्धारा नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव गरेको छ ।

 

सरकारले गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्नका लागि नेपाल विश्वविद्यालय विधेयक ल्याएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा दफावार छलफलमा रहेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने भनेको छ ।

एमालेका सांसदहरु महेश बर्तौला, ठाकुर प्रसाद गैरे, विद्या भट्टराई, गोकुल बास्कोटा, सरिता भुसाल, दिपा शर्मा, इश्वरी घर्ती र हरी प्रसाद उप्रेतीले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा ३ मा विश्वविद्यालय स्थापना सम्बन्धी व्यवस्था छ । तर, राष्ट्रिय सभाले यो प्रस्तावित व्यवस्थामा रहेको ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा’ भन्ने शब्द झिकेर विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ । राष्ट्रिय सभाले झिकेका शब्दहरु थप गर्नुपर्ने एमाले सांसदहरुको प्रस्ताव छ ।

एमालेका बाँकी ७ जना सांसदले भने विधेयककोे दफा ३ को उपदफा १ ‘मुनाफा रहित’ भनी लेख्नुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् ।

एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव स्वीकृत भएको खण्डमा लिबरल आर्टस्मा आधारित मुनाफा रहित नेपाल विश्वविद्यालय स्थापना हुनेछ ।

२० मंसिर २०७९ मा दर्ता भएको यो विधेयक १८ असार २०८० मा राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । हाल यो विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ ।

 

प्रकाशित : 5 March, 2024

प्रतिक्रिया दिनुहोस्