नौ महिनाअघि उद्घाटन गरेपछि नेपाल–भारत कार्गो रेल अहिले अलपत्र

काठमाडौं । फागुन २३, नौ महिनाअघि भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म शुरु भएको मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा उद्यगीहरू निराश भएका छन् ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गएको जेठ १८ गते विराटनगरमा सामान ल्याएर फर्किएको रेल अझै नआएको हो ।
बथनाहादेखि विराटनगरमा रहेको एकीकृत भन्सार जाँच विन्दु (आईपीपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । तर आयातको लागत घटाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ ।
नेपालले भारतसँग गरेको रुट सम्झौताबमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बताउनुभयो ।
सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको उहाँले बताउनुभयो ।
रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिङ्कर र सिमेन्टमात्र आयात गर्न पाउने विषय उल्लेख छ ।