राष्ट्रपति भण्डारीद्वारा बधाई

सहयात्रा टिभी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवम् संवैधानिक निकायलाई बधाई दिएकी छन् ।

वाम गठबन्धनमा आवद्ध दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवम् सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गरिन् ।
‘लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसँग बुझ्नु भएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ’–राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा एमाले का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा नेता सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । राष्ट्रपति भण्डारी र उनीहरुका बीचमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमा समेत कुराकानी भएको बताइएको छ । भेटपछि नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा बधाई दिएको जानकारी दिए ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्