वीरगञ्जका घाइते अग्नी नियन्त्रकको काठमाण्डौंमा उपचार हुँदै, आगो अझै नियन्त्रण बाहिर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२२ रघुनाथपुरको पटेलनगरस्थित सुपर ग्याँस उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुई जना कर्मचारीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते छन् । आज विहान आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसुदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् । बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए । यद्यपि पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताएका छन् ।
सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं पठाइएको छ । बिहान ६ बजेतिर प्लान्टमा ग्याँस लिक भएर आगलागी हँुदा आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरी रहेको बस्ती खाली गराइएको छ ।
हालसम्म आगो नियन्त्रणबाहिर गएपछि आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगञ्जस्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्काे दमकल झिकाइए पनि भीषण आगलागीका कारण घटनास्थलसम्म दमकल जान सकेको छैन । भने ग्याँस भण्डारण गरिएको आगो बलिरहेकाले आगो नियन्त्रणमा लिन नसिकएको बारुणयन्त्रका कर्मचारीले बताएका छन् । सो आगलागीमा अन्य कति व्यक्ति हताहत भएको र के कति सम्पत्ति जलेर नष्ट भएको सो खुल्न सकेको छैन । सो आगलागी नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी प्रयासरत रहेका छन् ।