सोमबार बस्ने भनिएको नाउपा केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । फगुन २८, नागरिक उन्मुक्ति पार्टी (नउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् ।
तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो ।
त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिइन्, तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएकी थिइन् । उनले सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही हुने चेतावनी दिएकी थिइन् ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेकी हुन् । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् ।
नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहलाई भने राहत भएको छ । उनले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्याउने प्रयासलाई निरन्तरता दिएका छन् ।