बाँसबारी जग्गा प्रकरणमा लागेको आरोपलाई चौधरीले इन्कार गरे

काठमाडौँ । चैत ८, उद्योगी विनोद चौधरीले बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा लागेको आरोपलाई इन्कार गरेका छन् ।
उनले बाँसबारी छालाजुत्ताको सरकारी जग्गा कानुन बमोजिम नै हालको सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको बयान दिएका जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाँसबारी छालाजुत्ताको जग्गा प्रकरणमा अनुसन्धानका लागि चौधरीलाई बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बोलाएको थियो ।
उनले बिहीबार विहान ८ देखि ११ बजेसम्म रामशाहपथस्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । जसमा उनले बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिको निर्णय अनुसार नै उक्त जग्गा तत्कालिन च्याम्पियन फुटवेयर प्रालि (हालको सीजी चाँदबाग रेसिडेन्सी) को नाममा आएको बयान दिएका सरकारी वकिल कार्यालय स्रोतले बतायो ।
बयानका क्रममा चौधरीलाई जग्गा फिर्ता प्रक्रिया अघि बढाए मुद्दा नचल्ने भनिएको थियो । तर चौधरीले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएकाले कानुन बमोजिम भोग्न तयार रहेको बयान दिएका स्रोतको भनाइ छ ।