गृहमन्त्री रविलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो : कांग्रेस

काठमाडौँ । चैत १९, नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताएकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् ।
यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं-सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान,’ सांसद गौतमले भनिन् ।
जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने उनको भनाइ छ । सांसद गौतम थप्छिन्, ‘उहाँहरु आई एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो ।
आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ ।’ तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले बताइन् ।