काठमाडौं महानगरनगरका प्रहरी जवानहरुलाई तालिम दिन सुरु

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, काठमाडौं महानगरपालिकाले आफ्ना नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको छ ।

महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको हो ।

महानगरले नगर प्रहरी नियुक्तिका लागि गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।

रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

महानगरले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिममा राखेको हो । नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने अधिकारीले बताए । यसअघि शारीरिक तालिम प्रदान गरिसकिएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ ।

आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड्युटीमा खटाइनेछ ।

काठमाडौं महानगरपालिकाले सहरी व्यवस्थापनको नाममा फुटपाथ तथा साना सडक व्यवसायीलाई न्यूनतम मानवीय संवेदना समेत ख्याल नगरी धरपकड गरेको भन्दै आलोचना हुँदै आएको छ । गत महिना मात्रै महानगर प्रहरीको आक्रमणबाट सुन्धारामा ६ फुटफाथ व्यवसायी घाइते भएका थिए ।

 

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्