बैठकमा रेशम चौधरीले दिए नेताहरुलाई ज्यान मार्ने धम्की

काठमाडौँ । चैत १९, नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम चौधरीले ज्यान मार्ने धम्की दिएका नाउपाका नेता रमेश बिकले बताए ।
सोमबारको बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका थिए । त्यतिबेलै रेशम चौधरीले सदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका हुन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
तर गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।
त्यही विषयमा छलफलका क्रममा विवाद हुँदा रेशमले ज्यान मार्ने धम्की दिएका हुन् । रेशम र रञ्जिता पक्षबीच विवाद हुँदा बैठकमै हात हालाहालको अवस्था बनेको थियो ।
यसअघि आइतबार पनि रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्रीलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने धम्की दिएको बिकले बताए ।