जीबी राई गृहमन्त्रीको सम्पर्कमा रहेको कांग्रेसको जिकीर

सहयात्रा टिभी

काठमाडौं । चैत २१, नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार अभियुक्त जीबी राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहे पनि पक्राउ गर्न नचाहेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राई मलेसियामा रहेको सूचना आफूहरुसँग रहेको र गृहमन्त्री लामिछाने उनीसँग सम्पर्कमा रहेको जिकीर गरे । तर, जीबी राईलाई नेपाल ल्याउन किन ढिलाइ भइरहेको छ भनेर उनले प्रश्न गरे ।

संसदीय समितिको बैठकमा प्रहरी प्रमुखले सुपुर्दगी सन्धि नहुँदा जीबी राईलाई नेपाल झिकाउन नसकिएको अभिव्यक्ति दिएको प्रसंग जोड्दै महामन्त्री शर्माले भने, ‘म गृहमन्त्रीजीलाई मलेसियाको कानुन पढाउन चाहन्छु ।

मलेसियाको कानुनमा भनिएको छ कि कुनै पनि देशको कोही अभियुक्त छ भनेर सम्बन्धित देशले कूटनैतिक प्रक्रियाबाट माग गर्यो भने सुपुर्दगी गर्न सकिन्छ । जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिपक्षमा रहँदा सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्राउ गर्नै नचाहेको भनेर आरोप लगाएको स्मरण गर्दै कांग्रेस महामन्त्री शर्माले अहिले आफू सरकारमा रहँदा गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्न नचाहेको बताए ।

 

 

 

प्रकाशित : 3 April, 2024

प्रतिक्रिया दिनुहोस्