सुदूरपश्चिममा बहुमतको सरकारका लागि दाबी पेश गर्न आह्वान

काठमाडौं । चैत २३, सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्न आह्वान गरेका हुन् ।
जबकी निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह संविधानको धारा १६८ (३) अनुसार २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । त्यसैले उनले विश्वासको मत नलिइ राजीनामा दिएकाले १६८ (५) अनुसार सरकार बन्ने अनुमान थियो ।
तर प्रदेश प्रमुख मियाँले कानुनी परामर्शपछि धारा १६८ (२) अनुसारकै सरकार गठनको आह्वान गरेका हुन् । दलहरूलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।