कैलालीमा मकैखेती गर्ने किसानले प्राप्त गरे कृषियन्त्र
सहयात्रा टिभी
काठमाडौं । चैत २६, कैलालीमा मकैखेती गर्ने किसानले कृषियन्त्र प्राप्त गरेका छन्। कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ।
कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो।
किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत ८ लाख रूपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ।
मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ। किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए।