संसद बैठक बस्दै, गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी विधेयक पेस गर्ने

काठमाडौं । चैत २७, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची छ।
त्यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
आजकै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।