सुरुङभित्रै कार्पेट र सोफा ओछ्याएर प्रधानमन्त्रीलाई स्वागत

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३, करिब ५३ महिनापछि हुन लागेको नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत पुगेका छन् ।

उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

मुख्य सुरुङ सोमबार मात्र वारपार छेड्न लागिए पनि त्योसँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको छ । आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउ–जाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउ–जाउ गर्न मिल्ने सात वटा ढोका छन् । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ । सवारी साधन गुड्नलायक भने एक वर्षपछि मात्र हुने आयोजनाले जनाएको छ ।

 

 

प्रकाशित : 15 April, 2024

प्रतिक्रिया दिनुहोस्