लुम्बिनी सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम एमालेले टुंग्यायो
काठमाडौं । वैशाख ६, नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एकरएक जना मन्त्री बनाइसकेका छन् ।
महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् ।
सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले बताए ।