अमेरिकी संसदबाट सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर पास
काठमाडौं । वैशाख ९ , अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ ।
न्यूयोर्क पोष्टका अनुसार तल्लो सदनले अलग–अलग सहयोग प्याकेजलाई मन्जुरी दिएको हो । यो सहयोग प्याकेज अधिकांश प्रत्यक्ष सैन्य सहायतासँग सम्बन्धित छ ।
तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोग घोषणाको प्याकेजमा हस्ताक्षर गरेर कानुनी रुप दिने बताएका छन् ।
बीबीसीका अनुसार अमेरिकाले युक्रेनलाई ६०.८ बिलियन (करिब ६१ बिलियन) डलर बराबरको सहयोग गर्ने छ ।
यसमा पनि ८० प्रतिशतभन्दा बढी राशी रुससँगको युद्धमा युक्रेनलाई सहयोग गर्ने कुरामा छ । यो सहयोगमा अमेरिकाबाट निर्मित हतियार, गोलाबारुदको आपूर्ति लगायत छन् । यो प्याकेजको करिब ९.५ बिलियन अमेरिकी डलर माफीयोग्य ऋणको रुपमा छ ।