जसपा विभाजन विरुद्ध अध्यक्ष उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

 

उनले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दिएका हुन् ।

यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गरेका छन् ।

नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसदको ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ ।

दल विभाजन गर्दा केन्द्रीय दलको संसदको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको अनिवार्य हस्ताक्षरमा सम्पूर्ण सदस्य निर्वाचन आयोगमा उपस्थित भई दाबी गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कुनै पनि इकाइ वा निकायको निर्णयबिना ३३ जनाको हस्ताक्षर पेश गरेर दल दर्ताको दाबी गरिएको रिटमा उल्लेख छ ।

त्यसैले जसपा नेपाल विभाजन गरी जसपा गठनको दाबी प्रथम दष्टिमै खारेज गर्नुपर्ने यादवले दाबी गरेका छन् । यादवले जसपा नेपालबाट विभाजन भएपछि गठित पार्टीको नाम जसपा राखिएकामा पनि प्रश्न उठाएका छन् ।

यादवले जनता समाजवादी पार्टी नामक दल दर्ता भएको सूचना राजपत्रमा प्रकाशन गर्ने गरी भएको निर्णय बदर गर्न, नयाँ दल गठन गर्नेहरुको हस्ताक्षर सनाखत प्रक्रिया यथास्थितिमा राख्न र दल विभाजन गरेर जानेहरुलाई संघीय संसदको हैसियतले कुनै पनि काम गर्न नदिन पनि आदेश माग गरिएको छ । यो मुद्दा सर्वोच्च अदालतमा २ जेठमा सुनुवाइ हुनेछ ।

प्रकाशित : 13 May, 2024

प्रतिक्रिया दिनुहोस्