तनहुँमा एमाले खगराज पक्षका कँडेल निर्वाचित

सहयात्रा टिभी

तनहुँ । जेठ २, नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए । जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ ।

जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे ।

सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।

प्रकाशित : 15 May, 2024

प्रतिक्रिया दिनुहोस्