कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । जेठ ८, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।
दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका थिए ।
सिरोहियालाई प्रहरीले पक्राउ गरेर धनुषा लगिरहेको छ। थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेर आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्याएर प्रहरीको गाडीमा चढाइएको छ।
सिरोहियालाई लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीको कमान्डमा टोली गएको छ। स्थानीय प्रहरीको पनि स्कर्टिङमा बीपी राजमार्गबाट धनुषातर्फ लगिरहेको छ।
गत वैशाख १७ गते सिरोहियाविरुद्ध नागरिकतासम्बन्धी कसुरमा जाहेरी परेको थियो। उनले फरक फरक नागरिकता नम्बर प्रयोग गरेको र उनीसँग भएको नागरिकता नम्बर अर्का व्यक्तिसँग पनि मेल खाएको प्रहरीको भनाइ छ।
पक्राउपछि सिरोहियाले भने आफूमाथि गृहमन्त्री रवि लामिछानेले रिसिइवी साँधेको आरोप लगाएका छन्।