ताप्लेजुङको टिप्ताला नाका दुई पक्ष खुलाउने तयारी
काठमाडौं । जेठ ९, ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो ।
गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो ।
चीनका तर्फबाट तयारी पूरा नभएकाले २५ वैशाखमा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
उनका अनुसार नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।