सुनिल र विकलले पाँच वर्षमा एक अर्ब ‘घूस’ लिएको अख्तियारको दाबी

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पाँच वर्षको अवधिमा सूचना प्रविधिको क्षेत्रका दुई पदाधिकारीहरूले एक अर्ब रुपैयाँ घूस लिएको दाबी गरेको छ ।

गैरकानूनी आर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेलको सम्पत्ति छानबिन गरेको अख्तियारले उनीहरूले भ्रष्टाचारबापत आर्जन गरेर करिब एक अर्ब रुपैयाँ परिचालन गरेको दाबी गरेको हो ।

पछिल्लो एक महिनामा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले विशेष अदालतमा पेस गरेको दुवै विरुद्धको आरोप पत्र हेर्दा पछिल्लो पाँच वर्षको अवधिमा उनीहरूले झण्डैझण्डै एक अर्ब रुपैयाँ घूस र अन्य भ्रष्टाचारबाट कमाएको खुल्छ ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका विकल पौडेलमाथि ६२ करोड १९ लाख रुपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग छ । सुनिल पौडेलमाथि २३ करोड ७५ लाख रुपैयाँ गैरकानूनी रूपमा जोडेको दाबी छ ।

अख्तियारले उनीहरूमाथि थप विभिन्न अनियमितता र भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको छ । सुनिलमाथि टेलिकम लगायतका निकायमा भ्रष्टाचार गरेको उजुरी छ । विकल पौडेलमाथि हुण्डी कारोबारको अनुसन्धान गर्न अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पत्राचार गरेको छ ।

विकल पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रका विभिन्न ठेक्कापट्टामा भ्रष्टाचार गरी सिंगापुर र अमेरिकामा त्यसबापतको घूस बुझेको आरोप छ ।

आरोप पत्रअनुसार विकलले जोडेको कुल सम्पत्तिमध्ये झण्डै आधा रकम उनले विदेशी बैंकमा घूसबापत लिएका थिए । इन्स्टासेफ नामक कम्पनीले सिंगापुरस्थित युनाइटेड बैंकमा रहेको विकलको खातामा ४ करोड ५१ लाख कमिसन दिएको थियो ।

त्यतिबेला राष्ट्रिय सूचना प्रविधि केन्द्रको नेतृत्वमा रहेका सुनिल पौडेल पछि नेपाल टेलिकमको प्रबन्ध निर्देशक बने । अख्तियारले उनीमाथि नेपाल र सिंगापुरमा गरी २३ करोड ७५ लाख रुपैयाँ सम्पत्ति जोडेको भेटिएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सुनिल माथिको आरोप पनि विकलकै प्रकृतिको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा नेपाली कम्पनीहरूलाई मिलेमतोमा ठेक्का दिएको, ती कम्पनीहरूले सिंगापुरको कम्पनीहरूसँग ठेक्का लिएको र त्यहाँबाट सुनिलले सिंगापुरमै कमिसन लिएको अख्तियारको आरोप हो ।

पछिल्लो पाँच वर्षमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २९ वटा ठेक्कापट्टाको काम गरेको थियो । त्यो बापत ३ अर्ब २९ करोड रुपैयाँ भुक्तानी भएको छ । केन्द्रले ओम्नी बिज्नेशन कर्पोरेट इन्टरनेशनल, म्याक्स इन्टरनेशनल प्रालि, वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालि र नेक्स्ट जेन सोलुसनसँग काम गरेको थियो ।

ठेक्का पाएका ती नेपाली कम्पनीहरूले सिंगापुरको बैंकोटेक प्रालि र इष्टासेफ इंक नामक कम्पनीसँग सूचना प्रविधिका उपकरण खरिद गरेर रकम सिंगापुरमा भुक्तानी गरेका थिए । भुक्तानी पाएपछि सिंगापुरका ती कम्पनीहरूले युनाइटेड ओभरसिज बैंकमा रहेको सुनिलको खातामा १३ करोड ५३ लाख रुपैयाँ जम्मा भएको भेटिएको छ ।

यो अवधिमा सिंहदरबारको सूचना प्रविधि नेटवर्क, सुरक्षा सामग्री, उच्च सुरक्षायुक्त डिजिटल प्रिन्टिङ प्रणाली लगायतका क्षेत्रमा काम भएको थियो ।

सुनिल पौडेल र विकल पौडेलले एक अर्कोको कार्यालयको ठेक्कापट्टा र कमिसनमा मिलेमतोमा समेत काम गरेका थिए । अख्तियारले सुनिल पौडेलको घरबाट बरामद गरेका कम्प्युटर, कागजात लगायतबाट अमेरिकामा रहेका दिपक आनन्द भन्ने व्यक्तिसँग उनीहरूले ठेक्कापट्टामा मोलमोलाई गरेको खुल्यो ।

कुराकानीका क्रममा सुनिल पौडेलले उपकरणको लागत अनुमान बढाउन र ठेक्काको मूल्य बढेपछि आउने कमिसन समेत बढाउन आग्रह गरेको भेटिएको अख्तियारको दाबी छ ।

आरोप पत्र अनुसार, ‘विकल पौडेलले आफू कार्यरत निकाय, सुनिल पौडेल कार्यरत निकाय र अन्य निकायहरूको स्पेसिफिकेसन र लागत अनुमान तयार गर्दा सम्बन्धित आपूर्तिकर्ताहरूसँग मिलेमतो, बार्गेनिङ तथा साँठगाँठ गरी ठूलो रकम भ्रष्टाचार गरेका’ थिए ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा मात्रै सुनिल र विकल पौडेलमाथि अख्तियारले ८५ करोड ९४ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ । त्यसबाहेक सुनिल पौडेलमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मतसम्भार ठेक्कामा अनियमितता गरेको आरोपमा छानबिन भइरहेको छ भने सुनिल पौडेलमाथि सुरक्षण मुद्रण केन्द्रका अरू अनुसन्धान विचाराधीन छन् ।

 

प्रकाशित : 27 May, 2024

प्रतिक्रिया दिनुहोस्