रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढी पसेर क्षति
काठमाडौ । जेठ १६, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो ।
आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताए ।
दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो ।
करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्याएको क्षतिका कारण परीक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिए ।
उनका अनुसार बाँध, पाइपलाइन, विद्युतगृह निर्माण सकिएको छ भने आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।