अमेरिका भिसाका लागी लामिछानेको अन्तर्वार्ता हुदै
काठमाडौं । जेठ १७, टी-२० विश्वकप खेल्न अमेरिका जान लामिछानेको आज भिसाका लागी अन्तर्वार्ता हुदै छ ।
क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ ।
दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।
तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।
बुधबार राप्रपा सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल लगायतले लामिछानेको भिसाका लागि माइतीघरमा भएको प्रदर्शनको अगुवाइ गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै उनलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको छ ।
टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ । दुतावासले भिसा अनुमति दिएमा लामिछानेले तुरुन्तै अमेरिका उड्ने तयारी गरेका छन् ।