केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा–दाहाल सम्बन्ध, ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ ’

सहयात्रा टिभी

चितवन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अपत्यारिलो ढंगले सम्बन्ध घनिभूत भएको छ । सिद्धान्त, आदर्श, बोली व्यवहार केही नमिलेपनि उनीहरुको राजनीति चाहिं मिलेको छ । त्यसो भए के राजनीति भनेको सिद्धान्त तथा आदर्शविहीन हो त ? प्रश्न कांग्रेस र माओवादीलाइ मात्र होइन, पछिल्लो समय नेकपा एमाले र राप्रपाको चुनावी साँठगाँठतर्फ पनि सोझिएको छ । सरकार गठन बिघटन र चुनावका बेला मात्र होइन यस्ता अप्राकृति लाग्ने गठवन्धन अख्तियार प्रमुख लोकमान सिंह कार्की, प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउनेबेला पनि छताछुल्ल भए । सरकारमै रहेको सत्तासाझेदार कांग्रेसलाइ पत्तो समेत नदिइ माओवादीले बिपक्षी एमालेसंग मिलेर अख्तियार प्रमुखबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । कांग्रेस अहिले पनि यो विषयमा अनिर्णित छ । एमाले र माओवादीको प्रस्तावबिरुद्ध जान पनि उसले आँट देखाउन सकेन । भन्नुको अर्थ नेपालमा राजनीतिको मुल सिद्धान्त ‘स्वार्थ’ बन्यो । व्यक्तिगत स्वार्थ पूरा हुन्छ भने पार्टीको नीति, सिद्धान्त र आम नागरिकका भावना गौण हुन थालेका छन ।
बडो अचम्म छ, चितवनमा आयोजित चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक अर्काको गर्नुसम्म प्रशंसा गरे । देउवाले माओवादीसंगको सत्ता यात्रा दीर्घकालका लागि भएको भन्दै दाहाललाई फुक्र्याए । आगामी संसदीय चुनावपछि पनि यो सम्बन्ध कायमै रहने उनले बताए । उनीहरु दुवै जना काठमाडौंबाट एउटै विमान चढेर भरतपुर पुुगेका थिए । नेता द्वय एउटै सिटमा गफिदै गरेकाबेला दाहाल पुत्र प्रकाशले खिचेको सेल्फि अहिले चर्चामा छ । 

सभालाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘स्थानीय चुनावमा मात्रै होइन, प्रान्तीय र संसदीय चुनावपछि पनि हामी संँगसँगै जान सक्छौं । माओवादी र कांग्रेसको सहकार्यका धेरै दिनसम्म अगाडि लानुपर्ने अबको आवश्यता छ । प्रचण्डजीको चाहना पनि यही छ ।’ उनले हिजोका कुरा बिर्सेर अब नयाँ ढंगले अघि बढनुपर्ने धारणा राखे । यसो भन्दा उनले आफूले दाहाल लगायत माओवादी नेताहरुको टाउकोको मूल्य तोकेको कुरा अब नगर्न आग्रह गरेको बुझन सकिन्थ्यो ।
सभापति देउवाले मन खोलेर बोलिसकेपछि प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि मन फुकाएर भाषण गरे । जनताको विकास र समृद्धिको निम्ति आफूले कठोर निर्णय गर्दै कांग्रेससंग सहकार्य गरेको बताए । कार्यक्रममा उनले देउवालाई भावी सभापति भन्दै सम्बोधन गरेका थिए । यसो भन्दा दर्शकदीर्घामा जोडदार ताली गुञ्जिएको थियो । उनले कांग्रेससंगको सहकार्यबाट मुलुकले निकास पाउने बताउँदै हिमाल, पहाड, तराई टुक्र्याउन खोज्ने एमालेको पछि नलाग्न आग्रह गरे ।
समारोहमा प्रधानमन्त्री दाहाल र सभापति देउवा दुवैले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताउन अपिल गरेका थिए ।
कार्यक्रममा कार्यकर्ताको ठूलो भीड थियो । दुवै पार्टीका कार्यकर्ता जम्मा भएका थिए । कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, कांग्रेस महामन्त्री शंशाक कोइराला, माओवादी नेता अमिक शेरचनलगायतले बोलेका थिए ।
आदर्श, सिद्धान्त, चरित्र केही नमिल्ने कांग्रेस– माओवादीको यो सम्बन्ध कति लामो जान्छ यो कसैले भन्न सक्दैन । तर दुवै पार्टीले भोग्नु परेको एउटा कुरा भने समान छ, ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ । ’

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्