फिफा विश्वकप दोस्रो चरणको खेलमा नेपालले आज यूएईसँग खेल्द
काठमाडौं । जेठ २४, फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यो खेल दशरथ रंगशालको अवस्थाका कारण न्युट्रल भेन्युमा खेलाउन लागिएको हो ।
एएफसीले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लड लाइट र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।
यसअघि बहराइनविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनकै मैदानमा गएर खेलेको थियो । दोस्रो चरणमा नेपलालले यसअघि खेलेको चारै खेलमा हार बेहोरेको छ ।
नेपाल अंकविहीन हुँदै पुछारमा छ । उता समूहको चारवटै खेल जितेर यूएई शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो स्थानमा छनोट भइसकेको छ । यस्तै यूएईले एसियन कपमा पनि स्थान पक्का गरिसकेको छ ।
यूएई ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उतिनै खेलबाट बहराइन ९ अंक जोडेर दोस्रोमा छ । यमन ३ अंकसहित तेस्रो स्थानमा छ । बहराइनले पनि लगभग तेस्रो चरणमा स्थान बनाइसकेको छ । आजै बहराइनले पनि घरेलु मैदानमा यमनसँग खेल्दैछ ।
यूएईका प्रशिक्षक पाउलो बेन्टोले पनि आफ्नो लक्ष्य पूरा भइसकेको बताउँदै नेपालविरुद्ध जितकै लागि खेल्ने बताए ।
यस्तै नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यस पटक नेपालको तयारी राम्रो भएको भन्दै राम्रो खेल प्रदर्शनको आशा राखेका छन् ।