भक्तपरमा नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना हुने
काठमाडौं । जेठ २५, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भोलि शनिवार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ ।
मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नम्बर ७ नगदेशको प्राङ्गणमा मेला आयोजना हुनेछ ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाण्डौ उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतले उत्पादन गरेका हरियो तरकारी र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलामा परम्परागत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्री वितरणका लागि पनि प्रदर्शनी कक्ष राखिनेछ ।
मेलामा नेवारी रेष्टुरालगायत स्थानीय किसान र आमा तथा महिला समूहको मेहनत खेर नजाओस भन्ने उद्देश्यले स्थानीय विद्यालय, कलेज तथा सहकारी तथा अन्य सङ्घसंस्थालाई चार लाख रुपैयाँभन्दा बढीको अग्रिम कुपन बिक्री समेत भइसकेको समितिले जनाएको छ ।