ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
काठमाडौं । जेठ २८, ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ।
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन उक्त प्रसारण लाइन सम्पन्न भएको हो।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ। प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म दुई सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।
प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ। यसमध्ये ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको हो। हेटौंडा–ढल्केबर खण्ड निर्माणाधीन छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न हुनु मुलुकको समग्र प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापारको परिमाण वृद्धि गर्न महत्त्वपूर्ण उपलब्धि भएको बताए।