कपनबाट करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असार ३, करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो ।

त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो ।

दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।

कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।

सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

 

प्रकाशित : 17 June, 2024

प्रतिक्रिया दिनुहोस्