खुम्बु क्षेत्रमा पूर्वाधार विस्तारले पर्यटक आवगमन सहज बन्दै

काठमाडौँ । असार ३, सगरमाथा पदयात्रा पदमार्ग (एभरेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ ।
पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै एक करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विनियोजित बजेटअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवागमनलाई थप सहज बनाउने उनले बताए ।
सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्व साथ हेरेका छन् ।
खुम्बुमा वर्षको दुई सिजन चैतदेखि जेठ र असोजदेख मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय सिजनमा पदमार्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिँडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।