रूरूक्षेत्र गाउँपालिकाद्धारा ३५८ बोट बरपिपल रोपण गर्ने
काठमाडौँ । असार ४, गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकाद्धारा ३५८ बोट बरपिपल रोपण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था मार्फत बरपिपल रोपण गर्न लागेको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत नै वरपिपल रोप्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पछिल्लो समय सडक विस्तार र विभिन्न कारणले बरपिपल मासिँदै गएका छन् ।
पर्यावरणीय हिसाबले पनि पिपलको महत्वपूर्ण मानिन्छ । पालिकाले गएको भदौ १९ गते गाउँ कार्यपालिकाको निर्णय बमोजिम वडानम्बर- १ मा १०८ बोट र अन्य ५ वटा वडाहरुमा ५० बोटका दरले बरपिपल रोप्ने निर्णय गरेको थियो ।
विरुवा रोप्न गाउँपालिकाले टोल विकास संस्थालाई सम्झौता गर्न आग्रह गरेको छ । बरपिपल रोप्नका लागि प्रतिबोट खर्च २ हजार रकम विनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताए ।
विनियोजन भएको रकमबाट विरुवा र मल खरिद, उपयुक्त खाडल र संरक्षणको लागि फलामे जाली लगाउनु पर्ने गाउँपालिकाले जनाएको छ । रोपिएका विरुवाको संरक्षणको जिम्मेवारी सम्बन्धित टोल विकास संस्था रहने भएको छ ।