गण्डकीमा माओवादीले गरेको कारबाहीविरुद्ध देवकोटाले दिए रिट

सहयात्रा टिभी

काठमाडौं । असार ६, ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

२८ जेठमा माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओजवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

देवकोटाले बिहीबार सर्वोच्चमा दायर रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन् ।

सुरुमा सभामुखकोसमेत मत प्रयोग गरेर नियुक्त भएका मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीलाई ६० सदस्यीय प्रदेश सभामा ३० जनालाई बहुमत मानेर विश्वासको मत दिलाएपछि कांग्रेस सर्वोच्च गएको थियो ।

सर्वोच्चले खगराजलाई पदमुक्त हुने फैसला सुनाउँदै ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्ने आदेश गरेपछि जेठ १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्