दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान वृद्धि कार्यक्रम ल्यायो

सहयात्रा टिभी

काठमाडौं । असार १०, दोलखाको भीमेश्वर नगरपालिका–४ मा ६० सालसम्म ४ वटा सामुदायिक विद्यालय थिए ।  एउटै विद्यालयमा ३०० देखि ४०० विद्यार्थी हुन्थे । अहिले विद्यार्थी अभावका कारण ३ वटा स्कुल गाभिएका छन् ।

भएको एउटामात्रै माध्यामिक तहको विद्यालयमा पनि जम्मा १६० जना विद्यार्थी छन् । ‘नयाँ भर्ना हुने विद्यार्थी निकै कम छैन । पहिले विद्यार्थीहरू अटाइ/नअटाई हुने विद्यालय सुनसान छन्,’ भीमेश्वर गाउँपालिका–४ का वडाध्यक्ष तारानाथ चौलागाईं भन्छन् ।

आफ्नो ठाउँमा बर्सेनि जन्मदर घट्दै गएको चौलागाईंसँग अर्को पनि अनुभव छ । उनको वडाले सुत्केरी आमाहरूलाई घरघरमै पुगेर पोषणयुक्त खाना बाँड्ने कार्यक्रम चलाइरहेको छ ।

जन्मदर घट्दै गएको भन्दै दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान वृद्धि कार्यक्रम ल्याएको छ । नगरपालिका उपप्रमुख कमला बस्नेतले आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को यो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै सन्तान वृद्धि प्रोत्साहन कार्यक्रमबारे जानकारी दिएकी हुन् ।

यो कार्यक्रम अनुसार ३ सन्तान जन्माए तेस्रो सन्तानले १० हजार रुपैयाँ पाउनेछन् । नगरपालिका सन्तान वृद्धिदरलाई सहयोग पुग्ने गरी ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान–उज्यालो भविष्य’ कार्यक्रम ल्याएको हो ।

‘हामी गाउँबस्तीमा गएका छौं । तर आम नागरिकलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सकेका छैनौं । यसले गर्दा पनि हाम्रो गाउँबस्ती पातलिंदै गएका छन् सुन्दर बस्ती रित्तिँदै गएका छन्,’ उपप्रमुख बस्नेतले भनिन्, ‘जन्मदर घट्दै गयो ।’

जन्मदर घट्दै जाँदा विद्यालयमा भर्नादर पनि त्यही अनुपातमा घट्दै गएको उपप्रमुख बस्नेतको भनाइ छ । ‘अनेकौं कारणले नागरिकहरू गाउँबस्तीमा भेटिन छाडेका छन् । विकास मानव जातिका लागि गर्ने हो । तर मानवजाति नै नभए कसका लागि गर्ने ?’ उनले भनिन्, ‘यो गम्भीर विषय हो ।’

यो कार्यक्रमले सन्तान जन्माउन प्रोत्साहन मिल्ने भीमेश्वर नगरपालिकाको विश्वास छ । पालिका प्रवक्ता चौलागाईंले जन्मदर घट्दै गएर बस्ती नै रित्तिने अवस्था आएपछि यो कार्यक्रम ल्याइएको बताए ।

‘अधिकांश ग्रामीण भेग खाली भइसक्यो । यता बस्ने भनेको अतिविपन्न वर्गमात्रै हो भन्ने भइसक्यो, भोलि आवश्यक पर्ने जनशक्ति खै त ?,’ नगरपालिकाका प्रवक्ता चौलागाईंले भने, ‘अहिलेलाई यति भए पनि केही प्रोत्साहन होला कि भनेर सुरु गरेका हौं ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार दोलखासहित ३४ जिल्लामा जनसंख्या ऋणात्मक अर्थात् घट्दो अवस्थामा छन् । जनगणनाले औसत परिवारको आकारमा पनि सबैभन्दा सानो दोलखा र गोरखा जिल्लामा देखाएको छ ।

दोलखामा प्रतिपरिवार औसत ३.४९ मात्रै संख्या देखिन्छ । अर्थात् परिवारको आकार सानो हुँदै जाँदा त्यसले समग्र जिल्लाकै जनसांख्यिकी वितरणमा पनि असर पारेको देखिन्छ ।

२०६८ को जनगणनाअनुसार दोलखाको जनुंख्या १ लाख ८६ हजार ५५७ जना थियो । तर १० वर्षपछि उक्त संख्या १ लाख ७२ हजार ७६७ जनामा सीमित भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार दोलखाको जनसंख्या १० वर्षमा ०.७४ प्रतिशतले घटेको देखिन्छ ।

सहरोन्मुख बसाइँसराइ, ढिलो बिहेवारी र थोरै सन्तानको इच्छाले पनि जन्मदर घट्दै गएको प्रवक्ता चौलागाईं दाबी गर्छन् । ‘वैदेशिक रोजगारमा जाने र बसाइँसराइ गर्ने एकदमै धेरै छ । अहिले त बिहे गर्ने उमेर पनि ३०/३२ पुगिसक्यो,’ उनी भन्छन्, ‘एउटा सन्तान भए पुग्छ भन्दै परिवारको आकार नै सानो हुँदै गयो ।’

 

प्रकाशित : 24 June, 2024

प्रतिक्रिया दिनुहोस्