विकृत बेमौसमी सरुवाका निर्णयहरू रोक्न मापदण्ड बनाउन सुरू

काठमाडौं । असार १०, सरकारले विकृत बेमौसमी सरुवाका निर्णयहरू रोक्न मापदण्ड बनाउन सुरू गरेको छ ।
मापदण्ड नबनिन्जेल पर्याप्त कारण र आधार नभई अपवादको अवस्थामा बाहेक चालु आर्थिक वर्ष २०८०/८१मा अर्थात् असार महिनाभरि कर्मचारी सरुवा नगर्ने निर्णय पनि ६ असारमा सिंहदरबारमा बसेको सचिव बैठकले गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा १३ प्रतिशत मात्र नियमअनुसार भदौ महिनामा भएको थियो । बाँकी ८७ प्रतिशत सरुवाको निर्णय नियममिचेर अन्य महिनामै भएको थियो ।
महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले विभिन्न श्रेणीका कर्मचारीलाई पटक–पटक काजमा समेत राख्ने गरेको छ । कानुनअनुसार प्रत्येक वर्ष भदौ महिनामा मन्त्रालयले नियमित सरुवा टुंग्याउनुपर्छ र विधि पुर्याएर काजमा खटाउनुपर्ने भएपनि नियमको पालना भइरहेको छैन ।
यही बेला ६ असारको सचिव बैठकले कर्मचारी सरुवालाई व्यवस्थित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै मापदण्डको मस्यौदा बनाएर आगामी २५ असारभित्र सबै सचिवहरूरप्रदेशका प्रमुख सचिवहरूलाई पठाउने निर्णय पनि गरेको छ ।