डा. भट्टराईद्धारा बुढीगण्डकीको काम अघि बढाउन सरकारलाई अल्टिमेटम

काठमाडौं । असार १४, पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।
सरकारले जलासययुक्त आयोजनाको रुपमा निर्माण गर्न खोजेकोमा डा। भट्टराईले बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने माग राखेका छन् ।
बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाको रुपमा सन्चालन गर्नुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएर फर्किदै पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई ।
अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डलाई माग पत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।
सो टोलीमा सहभागी नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिइन् ।
काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डलाई गराइएको उनले बताइन् । ‘भदौसम्म पनि यसलाई सरकारले गम्भिरतापूर्वक नलिएमा असोज १ देखि आन्दोलनकै रुपमा जाने चेतावनी दिएका छौं,’ मानुषीले भनिन् ।
उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको बढ्यै भए पनि प्रगती एकदमै न्यून छ । त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन् ।