युवा संघद्वारा कार्यकर्ता हत्याको विरोधमा रुपन्देही बन्द

रुपन्देही । युवा संघले आफ्ना कार्यकर्ताको हत्याको विरोधमा शनिबार रुपन्देही बन्द गरेको छ । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड ठप्प भएको छ ।
रुपन्देही देवदह खैरेनीका ४० वर्षे बसन्त पौडेल बलु लाई देवदह–२ ढेकारमा रहेको आफनो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नम्बर १ का एमाले अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् । घटना भए लगत्तै गुण्डा नाइके भन्दै प्रहरीले खोजीरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।