८ वर्षपछि सून्य डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

सहयात्रा टिभी

काठमाडौं । काठमाण्डौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो अथवा शून्यमा झरेको छ । चिसो बढेसंगै मुलुकभरको न्युनतम तापक्रमपनि घटेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरले जनजीवन अत्यन्तै कष्टकर भएको छ । काठमाडौंको तापक्रम आज बिहान शून्य डिग्री सेल्सियसमा झरेको हो । आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १।५ डिग्री सेल्सियस मापन भएको थियो ।

तापक्रम घट्ने क्रम अझै केहीदिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै उत्तरी क्षेत्रको हावाको बहाव बढेकोले पनि चिसो बढेको र यो क्रम अझै केहीदिन यथावत रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । अझै एकसाता पानी पर्ने वा हिमपात हुने संभावना नरहेपनि तापक्रम भने शून्य डिग्रीसम्म झर्न सक्ने मौसमविद् पौडेलले बताउनुभयो । उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण पौडेलको भनाइ छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो मापन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जिरीको माइनस् ३ दशमलव ५, पोखरामा ४ दशमलव ५, ओखलढुङ्गामा ३ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै सिमरामा ३, लुम्लेमा २ दशमलव ५, दशमलव ५ विराटनगरमा ७ दशमलव ७, जनकपूरमा ७ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३।५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।

प्रकाशित : 7 January, 2018

प्रतिक्रिया दिनुहोस्