त्रिशुलीमा खसेका बस र यात्रुकाे खाेजतलास आज बिहान ८ बजेदेखि सुरू हुने

सहयात्रा टिभी

चितवन । असार २९, चितवनको भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आज बिहानैबाट पुनः सुरु गरिने भएको छ । शुक्रबार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले राति स्थगित गरिएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बिहान ८ बजेबाट बेपत्ता बस र यात्रु खोज्न सुरु गरिने बताए । उनले भने,‘ अहिले बिहान ८ बजेबाट खोजी कार्य सुरु हुन्छ । सम्भावित सबै स्थानमा खोजी गर्छाै‌ं । पानीको तह, बहाब, धमिलोपनाको कारण वा अन्यथा भएमा बाहेक हामीले आफनो सबै सामथ्र्थ खोज र उद्धारमा लगाउँछौं ।’ उनले हिजो आज दिनभर खोजतलास गर्दा बस फेला पार्न नसकिएको बताए ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीनरचार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने । उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हिजो हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको थियाे ।

उनका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

प्रकाशित : 13 July, 2024

प्रतिक्रिया दिनुहोस्