बागलुङका किसानले व्यावसायिक आलुखेती गर्न थाले

काठमाडौं । साउन १५, पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् ।
पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् ।
ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो । आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ ।
ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ रुपैयाँ भित्रिने गरेको छ ।
ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि २ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि ३ करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।
जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो ।