हनियेको हत्या छोटो दुरीको रकेटको प्रयोग गरेर भएको इरानको दाबी
काठमाडौं । साउन २०, पश्चिमा मिडियाले पहिल्यै गेस्ट हाउस पुर्याइएको बम बिस्फोट गराएर हमासका शीर्ष नेता इस्माइल हनियेको हत्या गरिएको दाबी गरिरहेको बेला इरानले भने छोटो दुरीको रकेटको प्रयोग भएको बताएको छ।
शनिबार घटनाबारे पहिलो पटक विवरणहरू सार्वजनिक गर्दै इरानले निवासस्थान बाहिरबाट सात किलो जति बिस्फोटक पदार्थ रहेको छोटो दुरीको रकेट प्रहार गरेर हनियेको हत्या गरिएको भनेको हो।
सो रकेटले शक्तिशाली बिस्फोट गराएको भने पनि इरानले सो ड्रोन वा रकेट लन्चर के प्रयोग गरेर प्रहार गरेको लगायत अरू विवरण भने खुलाएको छैन।
द न्युयोर्क टाइम्सले इस्लामिक रिभोल्युसनरी गार्ड्सको गेस्ट हाउसमा हनियेको हत्या भएको भन्दै सो गेस्टहाउसको फोटो नै छापे पनि इरानले निवासस्थान बारे केही विवरण पनि खुलाएको छैन।
इरानले उक्त हत्या इसराइलले गराएको भन्दै (अपराधी) अमेरिकाले इसराइललाई सो कार्यमा सघाएको आरोप समेत लगाएको छ।
हनियेको हत्या गर्न करिब दुई महिनाअघि इरानको गेस्ट हाउस पुर्याइएको बम बिस्फोट गराइएको भनेर द न्युयोर्क टाइम्सले खुलासा गरेको थियो।