मनकामनामा केवलकार बन्द हुँदा ६० प्रतिशत भक्तजन घटे
काठमाडौं । साउन २८, मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ ।
बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए ।
शनिबारबाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको उनले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई तीन सय जना मात्र भक्तजन हुने गरेका छन् । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको उनी बताउँछन् ।
भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।
भक्तजनको कमी भएसँगै व्यापार व्यवसाय ठप्प बनेको गोरखा उवासंघ मनकामना बजार इकाइका अध्यक्ष लिलाम्बर थापाले बताए । केवलकार बन्दको प्रभावले मनकामना क्षेत्र सुनसान बनेको उनले जानकारी दिए ।