चन्द्रागिरि हिल्सको नाफा दोब्बर

सहयात्रा टिभी

काठमाडौं । साउन ३१, चन्द्रागिरि हिल्सले गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवभन्दा दोब्बर नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवमा २२ करोड ३३ लाख रुपैयाँ कमाएको छ ।

यो अघिल्लो आवभन्दा ९९ प्रतिशतले बढी हो । कम्पनीको आम्दानी बढ्नुका साथै वित्तीय लागत घटेकाले नाफा दोब्बर भएको हो । यस्तै कम्पनीको सञ्चालन आम्दानी १ अर्ब पुगेको छ । अघिल्लो वर्षमा यस्तो आम्दानी ९१ करोड ३४ लाख रुपैयाँ रहेको थियो । वित्तीय लागत २३ करोड १७ लाखमा झरेको छ । अघिल्लो आवमा यस्तो खर्च २८ करोड ५० लाख रुपैयाँ थियो । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि दोब्बर भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ७ रुपैयाँ ३० पैसा थियो ।

प्रकाशित : 15 August, 2024

प्रतिक्रिया दिनुहोस्