साफ यु-२० च्याम्पियनसिपमा नेपाली टोलीको चाहना उपाधि जित्ने
काठमाडौं । साउन ३१, आउने आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू-२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हो ।
उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् ।
कुशल देउवाको कप्तानीमा रहेको यू-२० टोलीमा यस पटक सिनियर टोलीबाट खेलिसकेका फरवार्ड समिर तामाङ र घरेलु फुटबल खेलिरहेका खेलाडीहरु छन् ।
दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् ।
नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।