व्यवसायीहरु अवैध क्रसर उद्योगहरुको नवीकरण गर्न सिंहदरबार धायेको धायै

काठमाडौं । साउन ३२, पछिल्लो दिनमा क्रसर उद्योगी र व्यवसायीहरु सिंहदरबार धायेको धायै छन् ।
उनीहरुको माग छ, मापदण्ड विपरीतका स्थानमा राखेर चलाइएका अवैध क्रसर उद्योगहरुको नवीकरण हुनुपर्यो । उनीहरु अहिलेको क्रसर उद्योग सञ्चालनको मापदण्ड नै बदल्न समेत चाहन्छन् ।
यसका लागि क्रसर उद्योगीरुले २८ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबार मात्रै भेटे । उनीहरुले प्रधानमन्त्रीसँगको भेटमा देशको आर्थिक अवस्था राम्रो नभएको भन्दै क्रसर उद्योगका लागि बनाइएको मापदण्ड खारेज गर्न र प्रशोधित ढुंगा, गिट्टी, बालुवा निर्यात गर्न दिन समेत माग गरे ।
नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार प्रधानमन्त्रीले निर्यात खुलाउन नसकिने बताए पनि उद्योगीहरुलाई अहिले परेको समस्या फुकाउने आश्वासन दिएका छन् ।
सिंहदरबारबाट बोलावट नभएपछि बिहीबार महासंघका पदाधिकारी अर्थ मन्त्रालयमा पुगेका थिए । उनीहरुले अर्थ मन्त्रालयका अधिकारीहरुसँग भेटेर समस्या समाधान गराउन र प्रधानमन्त्रीको आश्वासनअनुसार छलफलमा डाक्न आग्रह गरेर फर्किएका छन् ।
क्रसर व्यवसायीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई पनि भेटेर हालको मापदण्ड खारेज गरी उद्योगहरुलाई वैधता दिन माग गरेका छन् । गुप्ता र सुवेदीले आफूहरु मन्त्रालयमा नयाँ भएकाले अध्ययन गरिरहेको जवाफ दिएर फर्काएका छन् ।