ओलीद्धारा थप खेलकुद पूर्वाधार विकास गर्ने प्रतिबद्धता

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ब्रेकफास्टसँगै करिब दुुई घण्टा राष्ट्रिय टिमसँग कुराकानी गरेका प्रधानमन्त्री ओलीले थप खेलकुद पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटमा हासिल भएका उपलब्धी, आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजयको सुनिश्चितताबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुुई साताअघि भएको ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’को फाइनल हेर्न चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताएका थिए ।

खेलाडीका प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए ।

 

प्रकाशित : 19 August, 2024

प्रतिक्रिया दिनुहोस्