खुशीलाई न्याय र जवाफदेहिताको माग राखी किष्ट मेडिकलमा धर्ना

काठमाडौँ । भदौ ७, किष्ट मेडिकल कलेजको ब्लक–बी अगाडि दुई युवाले समातेको ब्यानरमा लेखिएको छ–‘मृतक खुशी मगरलाई न्याय दे, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाही गर ।’
यी दुई युवाहरू साउन २७ देखि नै अस्पताल प्रशासन अगाडि यसरी नै निरन्तर धर्नामा छन् । उनीहरूको माग स्पष्ट छः न्याय र जवाफदेहिता ।
सामान्य पत्थरीको उपचार गर्न अस्पताल भर्ना भएका उनीहरुले जीवनबाट खुसीलाई त गुमाए नै, न्याय पनि पाएका छैनन् ।
बर्दियाको ठाकुर बाबा नगरपालिका–८ की २७ वर्षीया खुशी मगर पित्तथैलीमा पत्थरी देखिएपछि २१ साउनमा किष्ट मेडिकल कलेजमा भर्ना भएकी थिइन् । भोलिपल्ट चिकित्सकले शल्यक्रिया गरे, तर साउन २६ गते मृत घोषणा गरियो ।
खुशीको स्वास्थ्य समस्या ७ महिना अगाडि सुरु भएको थियो । त्यतिबेला स्वास्थ्य जाँच्न उनी किष्ट मेडिकल कलेज आएकी थिइन् । चिकित्सकले उनको पत्थरी ७ ‘एमएम’को भएको बताएका थिए । दुई महिनापछि फेरि अस्पताल पुग्दा चिकित्सकले पत्थरी बढ्दै गएको र तुरुन्तै अप्रेसन गर्नुपर्ने सल्लाह दिए ।
खुशीका देवर महेशले त्यसबेला चिकित्सकले भनेको सम्झिए, ‘पित्तथैली फुटेमा मानिसको ज्यान तलमाथि हुनसक्छ । तुरुन्तै शल्यक्रियाका लागि चाजोपाँजो मिलाउनुहोस् ।’ तर आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले तुरुन्तै पैसा जुटाउन सकेनन् ।
शल्यक्रियाका लागि केही आर्थिक जोहो भएपछि खुशी गत साउन २१ मा किष्ट मेडिकल कलेज भर्ना भइन् । चिकित्सकले आवश्यक परीक्षण गरे र साउन २२ मा अप्रेसनको समय निश्चित गरे । दिउँसो १ बजे शल्यक्रिया सकिएपछि उनलाई सर्जिकल वार्डमा सारियो ।
‘त्यसबेला राम्रोसँग बोलिराख्नुभएको थियो । अल्लि अल्लि दुखिरहेको बताउनुभएको थियो’, देवर महेशले त्यस दिनको घटना सम्झिँदै भने । सर्जिकल वार्डमा सारिसकेपछि खुसीको दुखाइमा कमी आएन । उनका श्रीमानका अनुसार उनले डियुटीमा रहेका नर्स र चिकित्सकलाई जानकारी गराए, तर खासै वास्ता गरेनन् ।
दुखाइ बढ्दै गएर त्यही दिन राति १० बजेतिर खुसीको अवस्था बिग्रियो । चिकित्सकले शरीरबाट धेरै रगत बगिरहेको र पुनः अप्रेसन गर्नुपर्ने जानकारी दिए । आफन्तले जसोतसो २० पाउण्ड रगत जम्मा गरे र दोस्रो शल्यक्रिया सफल भयो ।
२४ घण्टाकै फरकमा दुई पटक अप्रेसन गर्नुपरेपछि उनीहरुले कारण नसोधेका पनि होइनन् । तर, जवाफ फरकफरक पाए । ‘एक डाक्टरले नसा काटिएर रगत बगेको भने, अर्काले कलेजोबाट रगत बगेको सुनाउनु भएको थियो,’ महेश भन्छन् ।
दोस्रो अपरेसन गरेपछि खुशीको स्वास्थ्यमा उतारचढाव आउन थाल्यो । ‘भाउजूले भोक लाग्यो केही खानेकुरा दिनुहोस् भन्नुभएको थियो । दिँउसोसम्म होसमा हुनहुन्थ्यो । तर साँझमा हेर्न जाँदा बेहोसजस्तो हुनुभएको थियो,’ देवरले त्यस दिनको घटना सुनाए ।
साउन २५ गते उनी निकै गम्भीर भइसकेकी थिइन् । खुसीका श्रीमानका अनुसार त्यसदिन चिकित्सकहरूले धेरै रगत बगेका कारण उनको मिर्गौला र कलेजोले काम गर्न छाडिसकेको जानकारी दिएका थिए ।
महेशका अनुसार २४ घन्टामा दुई पटक डायलाइसिस भयो । चिकित्सकले थप २० पाउण्ड रगतको जोहो आफन्तलाई अनुरोध गरे । ‘त्यस दिन खुशीको आँखामा पट्टी लगाइएको थियो ।
कोटेश्वरको एक बुटिकमा काम गर्दै आएकी खुशीलाई एक सामान्य स्वास्थ्य समस्या पत्थरीले उनको जीवनमा अप्रत्याशित मोड दियो ।
चिकित्सकको त्यो खबरले खुशीको परिवारलाई स्तब्ध बनायो । उनीहरूले बाहिर निस्किएर हेर्दा अस्पताल प्रशासनले पहिले नै सुरक्षाकर्मी खटाइसकेको देखेको उनीहरुको दाबी छ । उनीहरुले मृत्युको कारण र बिरामीको फाइल मागे, तर सन्तोषजनक जवाफ नपाएको उनीहरु बताउँछन् ।
महेशले आक्रोशपूर्वक भने, ‘हिँड्डुल गर्दै आएको मानिसलाई डर देखाइयो । हामीले पनि रोग किन पालेर राख्ने भन्दै शल्यक्रिया गर्न तयार भयौं, तर अस्पतालले हाम्रो परिवारको खुशी लुट्यो ।’
उनका अनुसार खुशीको मेडिकल फाइल लुकाइएको छ र उपचारमा संलग्न चिकित्सकहरूसँग कुरा गर्न दिइएको छैन ।
खुशीको मृत्युपछि अस्पतालमा आफन्तहरूको भीड जम्मा भयो । स्थिति नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज समेत गरेको थियो । केही व्यक्तिलाई पक्राउ गरेर पछि छाडियो ।
महेशका अनुसार सामान्य उपचार गर्न पनि आर्थिक अभावले लामो समय पर्खिएका उनीहरुको ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । अहिले खुशीको परिवार न्यायको खोजीमा छ ।