आँबुखैरेनी बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ ८, तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ ।

बिहान ८ बजेदेखि पोस्टमर्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरूको पोस्टमर्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने बताए ।

एउटा शवको पोस्टमर्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । ‘दुर्घटनामा परेर मृत्यु भएको हो, खासै धेरै समय पनि लाग्दैन, चोटपटक नदेखिएकाहरुको पेट खोलेर हेर्ने हो, टाउको खोल्नु पर्दैन,’ डा. पौडेलले भने, ‘शंकास्पद मृत्यु नभएकोले धेरै समय लिंदैन, प्रक्रिया पुर्‍याउन मात्रै खोजिएको हो ।’

अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरूको टोलीले शवहरूको पोस्टमर्टम गरिरहेको छ ।

दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव पोखरा लैजाने कि भरतपुर ल्याउने भन्ने कुराको मतभेद हुँदा शव ल्याउन ढिलाइ भएको थियो ।

दूरीका हिसाबले पोखराभन्दा नजिक रहेको भरतपुर अस्पतालमा नै पोस्टमर्टम सजिलै हुने देखिएपछि भरतपुर अस्पताल ल्याइएको अस्पतालका मेसु डा. पौडेलले बताए ।

शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जल गाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 24 August, 2024

प्रतिक्रिया दिनुहोस्