राम्रो टिम बनेपछि पार्टी नेतृत्व छोड्ने प्रचण्डको सोच

सहयात्रा टिभी

काठमाडौं । भदौ १४, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए ।

अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए ।

‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन,’ उनले भने ।

उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरे । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।

एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।

 

प्रकाशित : 30 August, 2024

प्रतिक्रिया दिनुहोस्