कांग्रेसका दुई महामन्त्रीको प्रतिवेदनमा सहमति खोज्न भोलि बैठक

काठमाडौं । भदौ १४, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादित विषयमा सहमति खोज्न भोलि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
महामन्त्री र उपसभापतिहरुसँग भएको छलफलले मतभेद साँघुरिएपछि देउवाले शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
त्यसअघि उनले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता रमेश लेखकसँग लगातार छलफल गरेका थिए ।
महामन्त्रीहरुको प्रतिवेदनमा रहेको चुनावी तालमेल, महाधिवेशनको कार्यतालिका र ‘एक्जिट पोलीसी’ बारे बिहीबार भएको छलफल सहमति उन्मुख भएको नेताहरुको दाबी छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल भन्छन्, ‘२/३ वटा बुँदामा सहमति नजिक पुगेका छौं । सबै सर्वसम्मत तरिकाले केन्द्रीय समितिबाट पारित गर्छौं ।’
यसमा विवाद भएका कारण १२ भदौमा बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेन । अब आइतबारका लागि बोलाइएको छ । बैठक अगाडि उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सिङ्गो पार्टीपङ््ति ढुक्क हुनुस्, सबै प्रस्तावहरु परिमार्जन सहित १६ गते सर्वसम्मतिले पारित हुन्छ ।’