बालिकालाई बँधुवा मजदुरसरह राख्नेलाई कारबाही गर्न थाकसद्धारा माग
काठमाडौं । भदौ २४, काठमाडौं महानगरपालिकाले उद्धार गरेकी बालिकाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न थारू कल्याणकारिणी सभा (थाकस)ले माग गरेको छ ।
थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बालिकालाई बँधुवा मजदुर सरह राख्नेलाई कारबाही गरी बालिकालाई उचित क्षतिपूर्ति समेत दिनुपर्ने बताए ।
उनले बालिकालाई पीडा दिने दोषीबारे छानबिन गरी कारबाही र क्षतिपूर्ति नदिए देशभरका थारू समुदाय आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।
यसैबीच थारू कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरी, मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती कुमारी चौधरी, थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारू कल्याणकारिणीसभा दाङका सभापति अशोक कुमार चौधरी र थरूहट थारूवान राष्ट्रिय मुक्ति मोर्चाका संयोजक श्रवण थारूले छुट्टाछुट्टै विज्ञप्ति समेत जारी गर्दै सो घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।
काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी विद्यार्थीले काठमाडौंका सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गर्ने क्रममा एक नाबालिकालाई लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको निवासमा श्रमशोषण गरेर राखेको खुलेको थियो ।
६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकाले आफूलाई यातना समेत दिएको बताएपछि काठमाडौं महानगरपालिकाले प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएर उद्धार गरेको थियो ।